धादिङ, २३ बैशाख। जिल्ला प्रहरी कार्यालय धादिङले लागू औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे गजुरी गाउँपालिका वडा नं. २ सेतीखोलास्थित पृथ्वी लोकमार्फतबाट कैलाली जिल्ला धनगढी उपमहानगरपालिका घर भएका ४६ वर्षिय काल्चे बोहोरालाई पक्राउ गरेको हो । लागू औषध ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले सुराकीको आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनको साथबाट ४७ केजी प्रतिबन्धित चरेस र ९७८ ग्राम अफिमसमेत बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । काठमाडौँबाट धनगढीतर्फ जान लागेको डीएल थ्री सी एडी ७०८१ नम्बरको इस्टिम भीएक्सआई लेखिएको भारतीय मारूती सुजुकीको सिटमुनि लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त सामान भेटिएको उनले बताए । बोहोरामाथि लागू औषध शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान बढाइएको धादिङ प्रहरीले जनाएको छ ।
यस्तै, जालसाजी मुद्धामा सजाय तोकिएका कुमारी गुरूङ धरौटीमा रिहा भएकी छिन् । धादिङ जिल्ला अदालतको फैसलाअनुसार जरिवाना बापतको चार हजार ६५७ रूपैयाँ रकम भुक्तान गरेपछि उनी रिहा भएकी हुन् ।


























