चितवन । यही पुस २८ गतेदेखि सुरु हुने आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्ने भएको छ। महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले पुस २८ गते दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नेछन्। गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले मंगलबार महोत्सवस्थलको निरीक्षण समेत गरेका छन्।
खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महोत्सव समुद्घाटनअघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाँकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। माघ ४ गतेसम्म चल्ने महोत्सवमा १५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेन छन्।
महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रम रहने छन्। यस्तै यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइनेछ। महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता, दैनिक विशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वाथ्य सेवा उपलब्ध हुनेछन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिने छन्।
यस्तै विविध मनोरञ्जनात्मक बाल उद्यानसमेत रहने आयोजकले जनाएको छ। यस्तै खिचरा डान्स आइडललगायतका अन्य प्रतियोगितात्मक कार्यक्रम रहेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए।



























