कास्की । आइतबार बिहान दुर्घटनामा परेको यती एयरको एटिआर–७२ विमान दुर्घटनामा उद्धारकर्मीले शव देखेर पनि निकाल्न सकेका छैनन्। नयाँगाउँस्थित सेती नदीको खोंचको अफ्ठ्यारो स्थानमा रहेका शव सोमबार पनि बिहानैबाट निकाल्ने प्रयास थालिएको छ। तर, शव अड्किएको ठाउँ ज्यादै अप्ठ्यारो स्थानमा भएको हुँदा शव भएको ठाउँसम्म उद्धारकर्मी पुग्नै कठिन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
उनका अनुसार हिजो बेलुका ६६ वटा शव संकलन गरेको थियो। बाँकी शव बिहानदेखि निकाल्न थालिएको छ। शव संकलनमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय जुटेका हुन्। विमानमा सवार ७२ जनामध्ये हालसम्म ६७ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ। बिहान ९ बजेबाट संकलन गरिएका शवको पोष्टमार्टम गर्ने, पहिचान भएकाको आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।


























