बागलुङ । वि.सं. २०४५ सालमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले ३०० रूपैयाँ तिरेर काठमाडौँमा मौरीपालन तालिम लिँदा सोचेकै थिएनन्, कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर। वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुगेका उनको विदेश जाने सपना पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ। त्यो पनि नेपालमै बसे।
वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उनलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्।
उनको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ। झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक रु १० लाख बराबरको आम्दानी हुँदै आएको छ। मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आएका छन्।
२०४५ सालमा मुढेघारबाट मौरीपालन गर्दै आएका उनले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आएका छन्। मोहराजको घरमा अहिले १५० मौरीका घार छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन्। ‘मौरीपालनमै जीवन व्यतितगरियो। अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी २०० मौरीका घारमा मह उत्पादन भइरहेको छ,’ उनी भन्छन्, ‘मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी हुँदै आएको छ।’
वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको उनी बताउँछन्। मौसम अनुकुल रहे अझै धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ। मह बिक्रीका लागि बजारको अभाव छैन। माग अत्यधिक भएकोले माग पूरा गर्नै नसकेको उनी बताउँछन्। मौरीसहितको घारलाई नौ हजारमा बिक्री हुने गरेको छ। यहाँ महको मूल्य प्रतिकिलो रु एक हजार २०० पर्छ। मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ।
‘कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ,’ उनी भन्छन्, ‘आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमै बिक्री हुन्छ।’
उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्रायः कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने उनी बताउँछन्। स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ। बागलुङ बजारमा मोहराजकी बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन्।
उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको छ। यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला बताउँछिन्। ‘बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पु¥याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु’ उनी भन्छिन्, ‘बुबाकै प्रेरणाका कारण मौरीपालनमा अग्रसर भएकी छु।’ घरमै मौरीपालन भएकोले मौरीपालनसम्बन्धी विभिन्न तालिममा समेत सहभागी भइसकेकी छन्, शर्मिला।
विदेश जाने ध्याउन्नमा वि.सं. २०४५ मा काठमाडौँतिर भौँतारिएका मोहराज यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्किएका थिए। ‘विदेश जानका लागि २०४५ मा २०÷२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौंमा ३०० रूपैयाँ शुल्क तिरेर तालिम लिएपछि घर फर्किएँ । त्यसैबेलादेखि मौरीपालन थालेँ,’ उनी भन्छन्, ‘यसैले अहिलेसम्म राम्रै फल दिइरहेको छ।’
धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन्। मौरीपालनमा उनको रु पच्चीस लाख लगानी भइसकेको छ। मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन्। यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ। -RSS