चितवन । भरतपुरमा सम्पन्न २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा गैँडाकोट डोजाङ पहिलो भएको छ। सात स्वर्ण र एक कास्य पदकसहित गैँडाकोट डोजाङ पहिलो भएको हो। दोस्रो हुन सफल माडी डोजाङले भने एक स्वर्ण र तीन कास्य प्राप्त गरेको छ। त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो भएको छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।
जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गरिएको श्रेष्ठले बताए। महिला र पुरुषको पाँच/पाँच वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठको भनाइ छ। पुरुषतर्फ ३० किलो, ४० किलो, ४५ किलो, ४८ किलो र ५१ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने महिलातर्फ ३५ किलो, ३८ किलो, ४२ किलो, ४४ किलो र ४६ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो।
त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि तेक्वान्दो विधाका खेलाडी समेत शनिबार नै छनोट गरिएको उनले बताए। उनकाअनुसार राष्ट्रपति रनिङ शिल्डका लागि पुरुषतर्फ ४५ किलो तौल समूहमा रोजन ढकाल, ४८ किलो तौल समूहमा एन्सिस गुरुङ र ५१ किलो तौल समूहमा सोहित गुरुङ छनोट भएका छन्। त्यस्तै, महिलातर्फ ४२ किलो तौल समूहमा जस्मिन गुरुङ, ४४ किलो तौल समूहमा दीक्षा चौधरी र ४६ किलो तौल समूहमा सुस्मिता कुमाल छनोट भएका छन्।


























