चितवन । कुनै समय मुग्लिन-नारायणगढ सडकमा पहिरो भन्नेवित्तिकै कालीखोला सम्झन्थ्यो। तर अहिले भने चार किलो सम्झिन थालेको छ। तोपेखोला नजिकै पर्ने चारकिलो क्षेत्रमा अहिले दैनिकजसो पहिरो झर्न थालेको छ। प्रहरी र सडक डिभिजनलाई पनि चारकिलोको पहिरो टाउको दुखाइको विषय बनेको छ। पानी पर्दा होस् या घाम लाग्दा, जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने अति जोखिमयुक्त स्थान बनेको छ, चारकिलो र तोपेखोला।
शनिबार पनि दिनभर जसो चारकिलोको पहिरोकै कारण यो सडक अवरुद्ध बन्यो। बिहान करिब साढे ११ बजेको समयमा खसेको पहिरो हटाएर बाटो खुलाउँदा साँझ करिब साढे ५ बजिसकेको थियो। पहिरो हटाइसके पनि सवारी सञ्चालन गर्ने क्रममा माथिबाट पहिरो खसेपछि तीन जना घाइते भएका छन्। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको एउटा स्कुटी र मोटरसाइकलमा सवार तीन जना सो पहिरोमा पर्दा घाइते भएका चितवन प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार स्कुटीमा सवार भरतपुर–७ की ३२ वर्षीया एन्जिला गुरूङ र ३८ वर्षीया सरला भण्डारी घाइते भएका हुन्। उनीहरुको भरतपुरस्थित पुरानो मेडकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सामान्य घाइते भएका एक जना मोटरसाइकल चालक भने आफैँले मोटरसाइकल चलाएर अस्पताल जान्छु भनी हिँडेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए। ती व्यक्ति प्रहरीको सम्पर्कमा छैनन्।



























