नारायणगढ । सामुदायिक सेवा केन्द्र नारायणगढले भरतपुर महानगरपालिकाभित्रका ४० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। महानगरपालिकाभित्रको वडा नं. १ देखि ५ सम्म आफ्नो कार्यक्षेत्र बनाउँदै आएको केन्द्रले पाँचवटा वडाको १० वटा विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिइन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको हो। प्रहरीसँग साझेदारी गर्दै नागरिकको सेवा क्षेत्रमा का मगर्दै आएको संस्थाले संस्थाको १७औँ स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण गरिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
यो संस्थाले प्रहरीसँगको साझेदारीमा लागूऔषध नियन्त्रण तथा ट्राफिक सचेतनाजस्ता सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यक्रममा पाँचवटै वडाका अध्यक्षसहितका सबै जनप्रतिनिधिलाई एकसाथ सम्मान गरेको थियो। कार्यक्रममा बोल्दै चितवनका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले विद्यार्थीमार्फत सचेतनाका कार्यक्रम आयोजना गर्दा समाजमा रहेका विकृति तथा विसंगतिलाई हटाउनमा थप टेवा पुग्ने बताए।


























