चितवन । २०७४ सालको स्थानीय तह निर्वाचनमा गीताकुमारी गुरुङसँग इच्छाकामना गाउँपालिकाको प्रमुख पदमा पराजित भएका नेकपा एमालेका नेता नारायणप्रसाद अधिकारी पाँच वर्षपछि जिल्ला समन्वय समिति (जिसस) चितवनको नेतृत्वमा आइपुगेका छन्। नेपाली कांग्रेसकी नेतृ गुरुङसँग झिनो मतान्तरले पालिका अध्यक्षमा पराजित भए पनि यतिबेला भने सिङ्गो जिल्लाको सबै पालिका हेर्ने गरी नेतृत्व पाएका छन्।
यसपटक पनि उनको जित भने सहज थिएन। सातवटा पालिकाका प्रमुख र उपप्रमुखबाट चुनिने जिससको नेतृत्वका लागि नेकपा एमाले र पाँच दलीय गठबन्धनको मत संख्या बराबर थियो। राप्ती नगरपालिकाको मेयर बनेका एकीकृत समाजवादीका नेता शमशेर लामालाई फकाउन पापड पेले पनि उनले गठबन्धनभन्दा बाहिर मतदान नगरेपछि बराबर आएको मतदान अन्ततः गोलाप्रथामा परिणत भयो। गोलाप्रथाबाट नारायणप्रसाद अधिकारीको भाग्य बलियो सावित भयो।
इच्छाकामना गाउँपालिका वडा नम्बर ३ कमेरे निवासी अधिकारी लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन्। उनी स्थानीय विद्यालयमा अध्यापन गर्दै राजनीतिमा होमिएका निष्ठावान नेताको रुपमा परिचित छन्। जिसस प्रमुखमा निर्वाचित भएपछि अधिकारीले सबै दललाई समेटेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।


























