चितवन २६ चैत । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा आज साइक्लिङ म्याराथन प्रतियोगिता हुँदैछ। प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्। प्रतियोगितामा १२ जना महिलासहित ९० जनाले नाम दर्ता गराएका छन्।
पाँच विधामा हुने प्रतियोगिता इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्। प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजार, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०/२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी रहेको छ। नारायणी नदी किनारबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्यालीसहित पुनः नारायणी किनारमा आई समापन हुनेछ। प्रतियोगितामा विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ। साथै विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको कूल बजेट रकम रु ४२ लाख ७३ हजार ३३५ रहेको छ। तीमध्ये बिजेता खेलाडीलाई नगद पुरस्कारमा मात्रै रु पाँच लाख ९५ हजार खर्च हुने संयोजक दरैले बताए। प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफबाट समेत सहभागिता रहनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताइन्।


























