चितवन २६ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका अन्य पालिकाभन्दा भरतपुर महानगरपालिकामा रस्साकस्सी अलि बढी देखिन्छ। देशैभर हाल गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल भइरहँदा भरतपुर महानगरपालिकामा भने नेकपा माओवादी र नेपाली कांग्रेसबीच मेयर आफैँले पाउनुपर्ने विषयमा बहस चलिरहेको छ।
केही दिनअघि चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरमा मेयर कसले पाउने भन्ने विषय केन्द्रबाट निर्णय भएर आउने बताएपछि नेपाली कांग्रेस चितवनमा त्यसको असर राम्रैसँग परेको देखिन्छ। २०७४ को निर्वाचनमा माओवादीलाई सघाएको चितवन कांग्रेसले यसपटक भने जसरी भए पनि कांग्रेसलाई सघाउन माओवादीसँग अनुरोध गरिरहेको छ।
माओवादी कार्यकर्ताले भने वर्तमान मेयर रेनु दाहाल नै भरतपुरको मेयरमा दोहोरिनुपर्ने पनि बताइरहेका छन्। तर कांग्रेसका नेता कार्यकर्ता भने केन्द्रमा माओवादीलाई सघाउन सके पनि भरतपुरमा सघाउन नसक्ने भन्दै पार्टीका केन्द्रीय नेतृत्वसँग गुहार मागिरहेका छन्। जिल्लाबाट वर्तमान सभापति राजेश्वर खनालसहितका केही केन्द्रीय सदस्य तथा जिल्ला तहका नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर भरतपुरमा कांग्रेसले मेयर छाड्न नसक्ने बताइसकेका छन्।
सभापति देउवाबाट सकभर भरतपुर कांग्रेसकै भागमा राख्ने आश्वासन पाएको कांग्रेस चितवनले यसअघि नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, डा शशांक कोइराला, डा शेखर कोइरालालगायतका नेतालाई पनि भेटेर ध्यानाकर्षण गराइसकेको छ। पार्टीलाई यति गर्दा पनि जिल्लाको निर्णय र अडानविपरीत भएमा चितवन जिल्लाले माओवादीलाई कुनै पनि हालतमा सघाउन नसक्ने केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्व सभापति टेकप्रसाद गुरुङले बताए। नेकपा माओवादीलाई विश्वास गरिहाल्ने वातावरण नभएकोले सघाउन नसकिने उनले बताए।

अघिल्लो पटक पनि गठबन्धनको नाममा माओवादीसँग मिल्दा कांग्रेसले बदनामी कमाएको भन्दै उनले भने, ‘स्थानीय निर्वाचनमा विश्वास गरेर हामीले माओवादीलाई सघायौँ। तर प्रदेश र संघको निर्वाचनमा एमालेसँग घाँटी जोड्न पुग्यो। अनि हामीले अझै पनि विश्वास गरिरहने?’ पार्टी केन्द्रीय समितिले कांग्रेसभित्र जसलाई मेयरको टिकट पाए पनि चितवन कांग्रेस खुसी हुने उनको भनाइ छ।
गठबन्धनले कांग्रेसलाई मेयरको टिकट नदिए भरतपुरमा एमालेले जित्ने उनले बताए। ‘किनकि निर्णय केन्द्र र गठबन्धनले गरे पनि भोट हाल्ने त हामी नै हौँ नि,’ उनले भने, ‘त्यसैले चितवन जिल्लाको निर्णय विपरीत भएमा जिताउने कि हराउने भन्ने अधिकार त हाम्रै हातमा छ।’ कांग्रेसका कार्यकर्ताले भरतपुर महानगरमा रुखबाहेक अन्त भोट नहाल्ने उनले बताए। यस्तो बेलामा पनि मेयरको उमेदवार माओवादीलाई दियो भने त्यसको असर दीर्घकालीन हुनेसमेत उनले बताए।
जिल्लाका सभापति राजेश्वर खनालले यसपटक पनि माओवादीले कांग्रेसलाई दालमोठ र चिउरामा भुलाएर आफू मासु र भात खान लागेको आरोप लगाए। ‘त्यसैले हामी यसपटक भरतपुरको मेयरमा कुनै पनि हालतमा माओवादीलाई बोक्न सक्दैनौँ’, उनले भने। जहिले पनि जिल्लाको चाहना र मर्मविपरीत निर्णय गरे त्यसको प्रतिवादमा जान चितवन कांग्रेस बाध्य हुने उनको भनाइ छ।


























