काठमाडौं, फागुन २६ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गरेकाछन्।
प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको छ। छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ। हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आउँदो स्थानीय तह चुनावमा एकल रुपमा जाने परिकल्पना नगरिएको बताए।
पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म कायम राख्नुपर्नेमा उनको जोड छ। बैठकमा पार्टीको भावी कार्ययोजनासँगै सदनबाट पारित अमेरिकी सहयोग अनुदान एमसीसीबारेमा पनि समीक्षा भैरहेको छ। बैठकमा आउँदो चुनाव, सत्ता सहकार्य, गठबन्धन र एमसीसी पारितपछि उत्पन्न परिस्थितिबारे छलफल भैरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। रासस


























