काठमाडौँ, फागुन २५ । नेपाली काँग्रेसले एमसीसीका विषयमा जनतामा रहेका भ्रम चिर्न अभियान चलाउने भएको छ।
स्थानीय चुनावको तयारीका विषयमा नेपाली काँग्रेसले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको विषयमा देखिएको भ्रम चिर्न जनताको बीचमा जान लागेको जनाएका हुन्।
उनले एमसीसीका विषयमा नकारात्मक प्रचार गरिएको भन्दै भ्रम चिर्नु हाम्रो जिम्मेवारी भएको पनि बताए।
उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन्। ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए।
पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए।
डा.महतले नेपाली काँग्रेस सत्य कुरामा विश्वास गर्ने पार्टी भएको पनि बताए।
एमसीसी उदार प्रकृतिको अनुदान सहयोग रहेको र यो सहयोगले इतिहासमा नयाँ नजिर स्थापित गरेको पनि उनले दाबी गरे।
डा.महतले अमेरिकी सेना नेपालमा आउने जस्ता भ्रम केहीमा रहेको भन्दै यस्ता भ्रमहरू चिर्न कार्यकर्तालाई प्रशिक्षण दिएर जनताका घरदैलोमा पठाउने पनि बताए।
जनताका हरेक प्रश्नका जवाफ दिएर नेपाली काँग्रेस अगाडि बढ्ने पनि उनले स्पष्ट पारे। पत्रकार सम्मेलनमा डा. महतले स्थानीय चुनावको हालसम्मको तयारी र अबका योजनाहरूबारे जानकारी दिएका थिए।


























