काठमाडौं, फागुन २० । आगामी निर्वाचनमा मताधिकार भएका तर विदेशमा रहेका नागरिकले मतदान गर्ने पाउने अधिकार सुनिश्चित हुनुपर्ने मागसहितका निर्णयहरु गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको दुई दिने बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा गत बुधबार र बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्ता निर्णयहरू गरेको हो।
बैंठकले राजसंस्था, हिन्दुराष्ट्र र जनजीविकाको पक्षमा तथा भ्रष्टाचारको विरोधमा जनसंघर्ष गर्न महामन्त्री डा। धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरेको छ।
नेपालको संसदले हालै पारित गरेको एमसीसी कम्प्याक्ट सम्झौताको व्याख्यात्मक टिप्पणी एमसीसी संझौताको कानुनी अंग नभएको राप्रपाको निष्कर्ष छ। एमसीसी यथास्थितिमा पारित गरिनुहुँदैन थियो भन्ने राप्रपाको पूर्ववत अडान कायम रहेको समेत जनाइएको छ।
बैठकले रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गरेको छ। ‘दुई देशबीचको समस्याको समाधान आपसी सहमतीबाट गर्नुको सट्टा एक देशले अर्को देशमा आक्रमण गर्ने कार्य अनुचित रहेको राप्रपाको ठहर छ।
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेताहरू, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश कार्यसमितिका अध्यक्षहरूको सहभागीता रहेको थियो।


























