काठमाडौँ, फागुन २० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घन्टा धकलिएको छ।
आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए।
नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो। राष्ट्रियसभा गृहमा बस्ने बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ।
नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन्। उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन्।
शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ।


























