काठमाडौँ, फागुन १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। बालुवाटार स्रोतका अनुसार अध्यक्ष दाहाल केही बेरअघि बालुवाटार आइ पुगेका हुन्।
स्रोतले भन्यो,‘अहिले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच अमेरिकी सहयोग परियोजना एमसीसीको पारित गराउने विषयमा छलफल भैरहेको छ।’ प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा बालुवाटार पुगेका छन्।
आजै बिहान माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायम राख्दै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको थियो।
अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको थियो।


























