काठमाडौं, फागुन ८ । सभामुख अग्निप्रसाद सापकोटाले लामो समयदेखि जारी रहेको संसद्को अवरोध खुलाउन प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन्।
‘कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु’ सापकोटाले भने, ‘विगत लामो समयदेखि जारी अवरोधका कारण संसद् सुचारु हुन सकिरहेको छैन। यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको छ। राष्ट्रिय महत्त्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गरेको व्यहोरा हामीलाई अवगत नै छ।’
दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानुनविद्, सञ्चारजगत, बुद्धिजीवीलगायतको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्त्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुने उनको भनाइ छ।
अहम् महत्त्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको भन्दै उनले छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गरे। साथै, कार्यसूचीलाई अगाडि बढाउन सबैबाट सहयोग हुने उनको विश्वास छ। प्रतिनिधि सभाको अर्को बैठक आउँदो १२ गते बस्ने भएको छ।


























