चितवन, फागुन ८ । पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन्। उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन्। जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन्।
पालिकाहरुको उपप्रमुखमा दुई पुरुष छन् भने पाँच महिला छिन्। ईच्छाकामना गाउँपालिका बाहेक नेतृत्व नेपाली कांग्रेसको छैन। उपप्रमुखमा दुई कांग्रेस र पाँच नेकपा (एमाले) का छन्। प्रमुखमा दुई माओवादी केन्द्र र चार नेकपा एमालेका छन्। निर्वाचनको समिकरण कसरी जान्छ, त्यसको पर्खाइमा रहेका उपप्रमुख आफ्नो तर्फबाट आफूले नेतृत्व गर्न पाउनुपर्ने दाबीमा धेरै छन्। केहीको मनसाय उपप्रमुख नै दोहोर्याउने छ।
आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी नेपाली कांग्रेसबाट निर्वाचित भएकीहुन्। पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा नेतृत्वले स्थानीयस्तरमा अवसर दिने भनेपछि आफू पछि हटेको उनले बताइन्। उनले भनिन् “केन्द्रीय सदस्य छोड्दै गर्दा मलाई महानगरको प्रमुखको टिकट दिने आश्वासन छ।” केन्द्रीय आश्वासन पाएको र पाँच वर्षको अनुभव हासिल गरेकाले आफैले नेतृत्व पाउनुपर्ने उनको दाबी छ।
महिला सङ्घ चितवनकी अध्यक्षसमेत रहेकी ठकुरीले पार्टीले आफूलाई प्रमुखको टिकट दिनेमा विश्वस्त रहेको बताइन्। यसअघि भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादीका तर्फबाट रेनु दाहाललाई समर्थन गरेर उपप्रमुखमा ठकुरीले टिकट पाएकीहुन्। केन्द्रीय गठबन्धनको टुङ्गो लागिसकेको छैन। कांग्रेसभित्रबाटै प्रमुखमा अन्य नेताको पनि दाबी छ।
रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी आफ्नो भूमिका नै प्रमुख सरह भएको बताईन्। नेकपा (एमाले) बाट निर्वाचित उनले अबको दाबेदारी स्वतः आफ्नो रहेको बताइन्। उनले भनिन्, “उपप्रमुखमा दोहोर्याएर उठ्दा रमाइलो हुँदैन, अनुभव हासिल गरेको छु, भूमिका पनि मेरै हो।” पार्टीले आफूलाई अवसर दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ। पाँच वर्षको आफ्नो अनुभवलाई उपयोग गरेर नगरपालिकामा काम गर्ने दुवाडीले बताइन्। उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवं अनेमसङघका उपाध्यक्ष हुन्। नेकपा एमालेबाट रत्ननगरमा प्रमुखका अन्य दाबेदार पनि छन्।
माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोले आफ्नो अनुभवका हिसाबले प्रमुखको दाबी स्वभाविक भएको बताइन्। उनले भनिन्, “पार्टीको निर्णय हामीले मान्नुपर्छ, स्वभाविक रुपमा मेरो दाबी रहन्छ, निर्णय पार्टीको हुन्छ।” अनुभव र क्षमताको हिसाबले आफूलाई निर्वाचन जित्न सहज हुने उनको दाबी छ। नगरपालिकामा पार्टीका तर्फबाट अन्य नेता पनि आकांक्षी छन्। सो नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकालले जितेको भए पनि उपप्रमुखमा एमालेका तर्फबाट महतो निर्वाचित भएकी हुन्।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले अबको निर्वाचनमा प्रमुख पदमा आफ्नो दाबी रहने बताए। पाँच वर्षको आफ्नो अनुभवलाई सँगाल्दै नगरपालिकाको प्रमुखमा आफ्नो जित सहज हुने विश्वास व्यक्त गरे। उनले भने “मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ, जित हासिल गर्न पनि सहज छ।” सो नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा अन्य उम्मेदवारको पनि दाबी रहेको छ। नेकपा (एमाले) को प्रदेश कमिटी सदस्यसमेत रहेका लामाले उपप्रमुख भएर आफूले पूर्णरुपमा काम गरेकाले अवसर प्राप्त हुनेमा आफू आशावादी रहेको बताए।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबी रहने बताए। उनले भने “पार्टीले आफूलाई अवसर दिन्छ भन्नेमा ढुक्क छु।” नेपाली कांग्रेसबाट निर्वाचित श्रेष्ठले पाँच वर्षमा आफूले उपप्रमुख भएर हाँसिल गरेको अनुभव प्रमुख बन्नका लागि सहयोगी हुने बताए। उनले भने, “पहाडी भूभाग भएकाले भूगोलको पूर्ण ज्ञानसहित अबको नेतृत्व मैले गर्न सक्छु।” सो गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट अन्यको पनि दाबी रहेको छ।
खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले प्रमुखमा आफ्नो दाबी प्रष्ट नभएको बताइन्। उनले पार्टीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने भन्दै आफूले गरेको कामको मूल्याङ्कन पार्टीले गर्नुपर्ने बताइन्। गएको चार वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउन उपप्रमुखतर्फबाट आफूले गरेको योगदान नगरवासीलाई छर्लङ्ग रहेको उनको भनाइ छ। उनी नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुन्।
कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले आफूले उपप्रमुखमै दोहोर्याउने चाहना राखेको बताइन्। उनले भनिन् “नगरपालिकामा पाँच वर्षमा गरेको अनुभवले पुनः एक पटक उपप्रमुखमै भएर काम गर्ने सोचमा छु।” उनी नेकपा (एमाले) बाट उपप्रमुखमा निर्वाचित हुन्।
जिल्लाका अधिकांश पालिकाका प्रमुख र अध्यक्ष पुनः दोहोर्याउने चाहनामा छन्। पार्टीको निर्णय भइनसकेकाले उनीहरु उम्मेदवारीको घोषणा गरेका छैनन्। तर पार्टीमा भित्री रुपमा उनीहरुले लविङ सुरु गरेका छन्। केन्द्रीय र स्थानीयस्तरमा हुने गठबन्धनले पालिकामा प्रमुख र उपप्रमुख कसलाई बनाउने भन्ने टुङ्गो लाग्ने धेरैको बुझाइ छ। चाहना व्यक्त गरे पनि यसका लागि पार्टीले निर्णय गर्नुपर्ने हुन्छ। पार्टीको निर्णय स्वीकार्ने पक्षमा सबै देखिएका छन्। रासस


























