काठमाडौं, फागुन ६ । नेकपा (एमाले) का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्।
शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता थापाले गठबन्धन अप्राकृतिक रूपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको बताएका हुन्।
‘यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन। यसमा पर्याप्त मात्रामा क्रंक्रिट थिएनन्। सिमेन्ट थिएन। छड मिलाएको थिएन। रसायन मिलेको थिएन। त्यसकारण यो टुट्नु त अनिवार्य छ। यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ,’ उनले भने।
गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ, सोहीअनुसार भूमिका निर्वाह गरिने उनले उल्लेख गरे। ‘टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ,’ उनले भने।
सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तिनै तहको निर्वाचन भएको उल्लेख गरे। ‘अहिले सरकार एमालेको प्राथमिकता होइन। एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन’ उनले भने।
उनले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए। एमालेको मागअनुसार १४ जना सांसदलाई कारबाही गरिनुपर्ने उनले बताए।


























