काठमाडौं, माघ २६ । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ।
बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे। च्यासलका मौसा अबागानाले एक गोल फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। नीर कुमार राईले उपलब्ध गराएको बलमा पेनाल्टी क्षेत्रबाट उनले क्रस गरेको बलले सिधै पोस्टको जाली चुमेको थियो।
तर, खेलको ५२ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। पुलिसका कप्तान सुमन सुवेदीले ५१ औं मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो।
त्यसपछि खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए। सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरे।
यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ। पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ। च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
खेलमा पुलिसका दुई गोलकर्ता रबि प्लेयर अफ दि म्याच चुनिए। च्यासलका आशिष राई इमर्जिङ प्लेयर चुनिए।


























