माघ २१ । विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदैछ।
क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो।
समयमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले आम नागरिकमा यसबारे जनचेतना बढाउन हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ।
विश्वको तथ्याङ्क हेर्दा एक वर्षमा झण्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। नेपालमा बर्सेनि झण्डै ६० हजार क्यान्सरका बिरामी थपिने गरेको अनुमान छ।
त्यसमध्ये नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ। ८० दशमलव ९ प्रतिशत क्यान्सरका बिरामी भने अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।
प्रारम्भिक चरणमा नै उपचार गरेमा क्यान्सर निको हुन्छ। क्यान्सरका बिरामीको लागि पर्याप्त रेडिएशन थेरापी मेसिनको अभाव छ।
आवश्यक उपकरणको अभावमा क्यान्सरको उपचारमा समस्या हुने गरेको चिकित्सकले बताएका छन्। चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकको भनाइ छ।


























