काठमाडौं, माघ १७ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो।
गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै एमसीसीको विवाद बल्झेको छ। जेठमा चुनाव गर्ने गरी मिति घोषणा गर्न गठबन्धनले सुझाव दिए पनि सरकारले मिति घोषणा गर्न सकेको छैन।
प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव मिति घोषणा सँगसँगै एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका छन्। शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा देउवाले एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए।
सोमवारको छलफलमा दुई नेताबीच चुनाव मिति घोषणा र एमसीसीबारे छलफल भएको स्रोतले लोकान्तरलाई बतायो।


























