माघ १५ । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ। नेपाल र मरिससबीचको खेल पाैने ५ बजे सुरु हुने । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन्।
खेलाडीलाई अन्तराष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक अल्मुताईरीले बताएका छन्। अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन्।
फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडी रहेको छ। मरिसस १ सय ७२ औं स्थानमा छ। नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा छ।
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ।
एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ।
पहिलो मैत्रीपूर्णका लागि नेपाली टिम :
किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी,सुदिप गुरुङ, सुमन लामा,ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ति मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ


























