काठमाडौं, माघ १४ । नेपाली कांग्रेसको केन्द्रीय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ। केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै बैठक सकिएको कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए। ‘आजको बैठकको एउटै एजेन्डा थियो। केन्द्रीय कार्यसम्पादन समिति गठन। ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै बैठक सकिएको छ,’ सहमहामन्त्री आङ्देम्बेले भने।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवादेखि पदाधिकारीहरु पदेन सदस्य रहन्छन्। जसमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन्।
त्यसैगरी कार्यसम्पादन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँण पनि समेटिएका छन्।
कार्यसम्पादन समितिमा आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, एनपी साउद, डा प्रकाशशरण महत, विजय गच्छदार पनि समेटिएका छन्।
यसैगरी पूर्वमहामन्त्री शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, अजुर्ननरसिंह केसी र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति अटेका छन्।
केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी, सुजाता कोइराला, आनन्द ढुंगाना कार्यसम्पादन समिति सदस्यमा चयन भएको सहमहामन्त्री आङ्देम्बेले बताए। आजको बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको हो।
को को रहन्छन् कार्यसम्पादन समितिमा?
बिधानको परिच्छेद- ७ मा केन्द्रीय कार्यसम्पादन सम्बन्धी व्यवस्था गरिएको छ। केन्द्रीय समिति बस्न नसकेको अवस्थामा छिटोछरितो काम गर्नका लागि कांग्रेसले कार्यसम्पादन समितिको व्यवस्था गरेको हो। कांग्रेसमा सभापतिसहित १६७ जनाको जम्बो केन्द्रीय कार्यसमिति रहेको छ।
विधानको परिच्छेद ७ को धारा २३ मा कार्यसम्पादन समितिको गठनबारे उल्लेख गरिएको छ।
१) केन्द्रीय कार्यसमितिको सभापति, उप-सभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री, पदेन।
२) सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि एकतीस जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछ। उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ।
३) संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ।
४) केन्द्रीय कार्यसमितिका प्रवक्ता।
यस्तो छ कार्यसम्पादन समितिको काम
१) कार्यसमितिको एउटा बैठक र अर्को बैठककोबीचमा कार्यसमितिले गनुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ।
२) कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनमोदनका लागि प्रस्तुत गर्नेछ।
३) पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ।
(४) समय-समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसंग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ।


























