पोखरा, माघ १२ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४-१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो। मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो।
एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन्।


























