चितवन, कार्तिक २ । मगर संस्कृतिमा आधारित नेपाली चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को गीत ‘के मेरो माया लाग्छ र’ सार्वजनिक भएको छ। सञ्चारकर्मी रमेश रानामगर र सनम आलेमगरको अभिनय रहेको गीत शनिबार मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा देवराज आलेमगर र तारा श्रीषमगरले आवाज दिएका छन्। राजु थापामगरको शब्दमा देवराज आलेमगरले संगीत दिएका छन्। प्रदर्शनको तयारीमा रहेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो। गोविन्द पुनमगरको निर्देशन तथा छायांकनमा तयार भएको गीतको दृश्य भने पोखरा आसपासको क्षेत्रमा कैद गरिएको हो।
अमृता रानामगर, प्रेमकुमारी आलेमगर, देवेन्द्र रानामगरको लगानीमा निर्माण भएको चलचित्रमा अधिकांश कलाकारले डेब्यू गरेका छन्। चलचित्रमा नायकको रूपमा उदाएका रमेश रानामगर स्वयमले पनि यही चलचित्रबाट आफूलाई नायक तथा निर्देशकको रूपमा दर्शकमाझ उभ्याउने प्रयास गरेका छन्। ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, स्रष्टी थापामगरलगायतका कलाकारले पहिलोपटक चलचित्रको पर्दामा आफूलाई उभ्याएका छन्। साथमा प्रेमकुमारी आलेमगर, देवी थापामगर, भीमबहादुर थापामगर, मिलन पाटामगर, बलबिक्रम थापामगर लगायतले अभिनय गरेका छन्।

रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका छन्। अधिकांश दृश्य तनहुँको आँबुखैरेनीस्थित रानागाउँमा कैद गरिएको चलचित्रमा कास्की र चितवनका पनि केही स्थानका दृश्य देख्न सकिन्छ। चलचित्रमा पहिलो प्रयास भए पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ। प्रदर्शनको तयारीमा रहे पनि कोरोना कहरका कारण प्रदर्शन गर्न नसकिएको चलचित्रका नायक तथा व्यवस्थापक ईश्वर रानामगरले बताए। ‘फिल्म हलहरू खुलेसँगै हामी चलचित्र प्रदर्शन गरिहाल्छौँ,’ उनले भने।


























