माघ १० । साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा पहिरो गएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ। नेप्से ३.४३ प्रतिशतले घटेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० विन्दुमा झरेको छ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको शेयर घटेको छ। सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ। आज अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो।
सोमबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ५ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ।
यस दिन कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। बैंकको शेयरमूल्य ७।८२ प्रतिशतले घटेर ४ सय ४० रूपैयाँ ६० पैसामा झरेको छ।


























