माघ १० । तीन खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि क्लिन स्विप गरेको छ। केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले आइतबार राति तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै सिरिज ३–० ले जितेको हो।
दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा २८३ रन बनाएर अलआउट भयो।
भारतका लागि विराट कोहली ६५, शिखर धवन ६१ र दीपक चाहर ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन। सूर्यकुमार यादवले ३९ रन बनाउँदा श्रेयस आयर २६ र कप्तान केएल राहुल ९ रनमा समेटिए।
भारतविरुद्धको खेलमा दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले ३–३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट हात पारे।
पहिला ब्याटिङ गरेको अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो। उसका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए।
दक्षिण अफ्रिकाका भान डेर डुसेन ५२ र डेभिड मिल्लरले ३९ रन बनाएका थिए। भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिँदा दीपक चाहर र बुम्राहले २–२ विकेट हात पारे। दक्षिण अफ्रिकाले भारतविरुद्धको एक दिवसीयमा क्लिन स्विप गरेर खेललाई रोचक बनाएको छ।


























