माघ १० । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ। शीर्ष स्थानको मड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
इल्चेले लिएको दुई गोलको अग्रतालाई उल्टाएर रियलले बराबरी खेलेको हो। रोचक बनेको खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न सकेनन्। पेनाल्टी मिस भएपछि रियल सुरुवाती अग्रता बनाउन चुकेको थियो।
उता इल्चेका लागि खेलको ४२ औँ मिनेटमा लुकास बोएले गोल गर्दै सुरुवाती अग्रता बनाए। दोस्रो हाफको ७६ औं मिनेटमा पेरे मिल्लाको गोलमा इल्चे २–० को अग्रता बनायो।
खेल पुरै इल्चेको पोल्टामा परेको थियो। तर, खेलको अवधि आठ मिनेट मात्र बाँकी हुँदा रियलले पाएको पेनाल्टीको अवसरलाई लुका मोड्रिचले सदुपयोग गर्दै खेल २–१ मा फर्काए।
त्यसपछि प्रेसरमा खेलेको रियलका लागि इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्।
आइतबार बराबरी खेलेसँगै रियलले ५० अंक बनाएको छ। २२ खेल खेलेको रियल शीर्ष स्थानमा यथावत छ। १५ औँ स्थानमा रहेको इल्चेले २३ अंक बनाएको छ।


























