चितवन २० पुस । ‘हाम्रो सिर्जना’ नामक अनुसन्धानमुलक साहित्यिक एवम् सांस्कृतिक पत्रिकाले साहित्यकार भुवन चन्द ठकुरीको उपन्यास ‘आहुति’लाई ‘सहिद दशरथ चन्द स्मृति पुरस्कार–२०७८’बाट पुरस्कृत गर्ने भएको छ। आनन्ददेव भट्ट–सुशीला भट्टद्वारा स्थापित तथा चितवनबाटै प्रकाशित पत्रिकाले माघ १६ गते विशेष कार्यक्रम आयोजना गरेर ‘आहुति’ उपन्यासका लागि ठकुरीलाई नगद १५ हजार राशिको पुरस्कार प्रदान गर्न लागेको पत्रिकाका प्रकाशक, समालोचक एवम् समीक्षक डीआर पोखरेलले जानकारी दिए।
सहिद दशरथ चन्द ठकुरीको जीवनीमा आधारित रहेर लेखिएको उपन्यासलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको उनले बताए। ‘हामीले यो पुरस्कार दशरथ चन्दको विषयवस्तुमाथि लेखिएका कृतिलाई पहिलो प्राथमिकतामा राख्दै आएका छौँ,’ उनले भने, ‘सोहीअनुसार यसपटकको पुरस्कार आहुति उपन्यासलाई दिने निर्णय गरेका छौँ।’ विसं. २०७० सालमा स्थापना भएको यो पुरस्कार केही वर्ष वार्षिकरूपमा प्रदान गरिँदै आए पनि विगत दुई वर्षयता भने हरेक दुई÷दुई वर्षमा प्रदान गर्दै आएको छ।


























