चितवन २० पुस । वि.सं. २०४५ सालमा स्थापना भएको चितवनको अग्रणी साहित्यिक संस्था चितवन साहित्य परिषद (चिसाप)ले यही पुस २४ गते दुई कृति र कृतिका लेखकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। चिसापको ४५औँ बैठकले लेखनाथ जयन्तीको अवसर पारेर सोझो गाउँलेको कविता संग्रह ‘मरूभूमिमा हिमपात’लाई ‘चिसाप कृष्णकुमारी गुरूङ साहित्य पुरस्कार–२०७७’ र दीपक शम्चूको कवितासंग्रह ‘आप्पाको अनुहार’लाई ‘चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार–२०७७’ प्रदान गर्ने निर्णय गरिएको हो।
हरेक दुई/दुई वर्षमा प्रदान गर्दै आएको ‘चिसाप कृष्णकुमारी गुरूङ साहित्य पुरस्कार’ र हरेक वर्ष प्रदान गरिँदै आएको ‘चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार’बाट जनही १५ हजार ४५ रूपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागेको चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए। यसले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुग्ने उनले विश्वास लिए।


























