काठमाडौँ, पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
१४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो।
सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्। उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन्। उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन्। विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन्। सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने विधानमा व्यवस्था छ।
सभापतिमा पराजित डा.शेखर कोइरालाले पहिलो बैठक बहिस्कार गरेका थिए। देउवाले डा.कोइरालाको वरीयता पछाडी राखेपछि उनी पहिलो बैठकमा सहभागी भएनन्। दोस्रो बैठकमा उनले के गर्छन् भन्ने टुंगो लागिनसकेको उनी निकट स्रोतले जनायो। वरीयता विवाद मिलेको छैन।


























