पुस १७ । बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ।
शनिबार भएको खेलमा होबार्टलाई ब्रिसबेन हिटले १४ रनले हराएको हो। ब्रिसबेनले दिएको १ सय ५१ रनको लक्ष्यसहि जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।
होबार्टका लागि टम रोजर्सले अविजित ३३ रन जोड्दा डी आर्ची शर्टले २७ रन बनाए। ह्यारी ब्रुक २२ तथा नाथन एलिस १८ रनमा आउट भए। ब्रिसबेनका जाभियर बार्टलेटले ४ विकेट लिए। मुजिब उर् रहमानले ३ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। ब्रिसबेनका लागि जेम्स बाज्लेले अविजित रहदै सर्वाधिक ४४ रन बनाए।
ज्याक विल्डरमुथले २८ रन जोड्दा साम हेअलेटले २४ रन बनाए। क्रिस लिन १३ रनमा आउट भए। होबार्टका नाथन एलिसले ३ तथा टम रोजर्सले २ विकेट लिए। सन्दीपले ४ ओभरमा ३७ रन खर्चिएर १ विकेट लिए। यस सिजन सन्दीपको यो छैटौं विकेट हो।
यस हारसँगै होबार्टले ८ खेलमा १७ अंक जोडेको छ। होबार्ट तेस्रो स्थानमा रहेको छ। ब्रिसबेन १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।


























