कञ्चनपुर, पुस १ । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो। कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ।
“कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं”, उनले भने, “टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं।” कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ। कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ।
स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन्। सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्थासमेत रहेको छ। कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन्। शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन्। कैदी बन्दीको सङ्ख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर थापाले बताए। रासस


























