असार ७ । इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो।
ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे। खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन्। उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन्। खेलको ५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली अग्रता दोब्बर बनाउन चुकेको थियो।
यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए।
इटालीविरुद्ध वेल्सले पनि गोलको केहि अवसर सिर्जना गरेको थियो। तर, गोलमा परिणत गर्न नसक्दा पराजित भएको हो। यस जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ। इटालीले ३ खेलमा ९ अंक जोड्यो। र, समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो। इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो। र, समूहको दोस्रो स्थानमा रह्यो। समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। एजेन्सी


























