पोखरा, मंसिर २९ । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ। पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाडेकाहुन्।
उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिए। पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने धारणा राखे। पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्ने बताए।
स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको बताए। जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उनको भनाइ थियो। उक्त वडाका अध्यक्ष रणबहादुर थापाको सिल्भर काप र विगहेड जातका १६ हजार माछा तालमा छाडिएको जानकारी दिए। वडास्तरीय बजेटबाट तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राखे। रासस


























