काठमाडौं, मंसिर २० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ।
सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितता’बारे गम्भीर चासो लिएको हो।
अख्तियार स्रोतका अनुसार अख्तियारले सीटीईभीटीमा भएका अनियमितता’bout विभिन्न सञ्चार माध्यममा आएका तथ्यलाई आधार मानेर सीटीईभीटी र सदस्य सचिव काफ्लेमाथि छानबिन गर्ने तयारी गरेको छ। ‘यस सम्बन्धमा आवश्यक तथ्य र सूचना संकलन गरेर छानबिन अघि बढाउन सकिन्छ,’ अख्तियार स्रोतले भन्यो।
कुनै पनि निकायमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा आएका तथ्यपरक सूचनालाई नै उजुरीका रूपमा ग्रहण गरी अख्तियारले छानबिन र अनुसन्धानलाई अघि बढाउन सक्ने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। सीटीईभीटी’bout पनि केही दिनदेखि अनियमितता भइरहेको भन्ने सूचना प्रवाह भएकाले त्यसका आधारमा अख्तियारले छानबिन अगाडि बढाउन सक्ने प्रवक्ता रिसालले बताए। ‘सीटीईभीटीमा पछिल्लोपटक अनियमितता भएको भन्ने विषय अख्तियारको नोटिसमा पनि आएको छ, यस सम्बन्धमा अख्तियारले छिट्टै आवश्यक निर्णय गर्ला,’ प्रवक्ता रिसालले भने। राजधानी दैनिकमा खबर छ।


























