मकवानपुर, मंसिर १९ । शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरेकाछन्।
यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाएकाछन्। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।
मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिनुभएको निर्वाचन समितिले जानकारी दिएको छ।
नेपाली कांग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ।
आज अपरान्ह २।३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।
यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेकाछन्। केहीबेर अघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताए। घोषणाअनुरुप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गर्नुभएको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिए।
प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी छन्। रासस


























