विराटनगर, मंसिर १९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन। कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन।
उमेदवार तथा पार्टीका नेताहरु मतगण्ना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए। नेताहरु आएपछि सुरु गर्ने उनले बताए।
प्रदेश १ मा १७५२ मत खसेको छ। प्रदेशमा १८०४ मतदाता रहेका थिए। प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ। दुवै समूहले प्यानलसहित निर्वाचनमा होमिएका थिए।
संस्थापन इतरको राम्रो पटक मानिएको प्रदेश १ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो। थापा सिटौला समूहका हुन्।
निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदान सुरु हुन ढिलाइ भएको थियो। प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो।
अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरुले नाम छुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो।


























