काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओलीसत्र चलिरहेको टिप्पणी गरेका छन्।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले उक्त टिप्पणी गरेका हुन्।
नेता थापाले भने, ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यो पनि बन्दसत्र होइन, एक प्रकारले ओलीसत्र नै चलिरहेको थियो। मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन्। त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ। त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर एकजना उठेछन्, भीम रावल। भीम रावलले झन्डै भकुराइ र पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको छ। विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेमा हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ।’
नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको उनको भनाइ छ। नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप लगाए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाए।
सेनका विरुद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताए।
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए।
नेता थापाले भने, ‘हामीले के कुरा बुझ्नुपर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिसन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्त्व राख्छ। चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफूभित्रको जनवादलाई सकाएको मात्रै होइन, प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ। त्यो शक्तिको रूपमा आउँछ। अब नेकपा एमालेसँग केही समय हामीले जुध्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ।’


























