काठमाडौं, मंसिर ११ । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ।
टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित दर्ता गरेको हो। कर्णालीले दिएको १ सय १४ रनको लक्ष्य गण्डकीले २६ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। गण्डकीको जितमा दिपक डुम्रेले सर्वाधिक ३४ रन जोडे। उत्सव श्रेष्ठले २६ तथा अर्जून कुमालले १४ रनको योगदान गरे।
कर्णालीका लागि सन्दीप शाही र निश्चल रावलले समान २–२ विकेट हात पारे। अनुज चनारा, रुपक दाहाल र दिनेश पुनले एक–एक विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २८ ओभरमा अल आउट हुदै १ सय १३ रन मात्र जोड्न सक्यो।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक २६ रन जोड्दा अनुज चनाराले २२ तथा रुपक दाहालले २० रनको योगदान गरे। गण्डकीका किरण पौडेलले सर्वाधिक ३ विकेट तथा सुदिप अर्याल र सुवाश भण्डारीले एक–एक विकेट हात पारे।
गण्डकीले यस अघि लगातार दुई खेलमा पराजय भोगेको थियो। कर्णालीले तीन मध्ये एक खेल जितेको छ।


























