चितवन, मंसिर १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताएका छन्। उनले आसन्न चुनावबाट देश बनाउन एकल बहुमत ल्याउने बताए।
चितवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूले गरेको संसद विघटन सही कदम भएको जिकिर गरे। अध्यादेश, परमादेशबाट सरकरा फेरिँदा असंवैधानीक संस्कार बसेको भन्दै उनले आफूहरुले जनादेशमा जान आग्रह गर्दा अरु राजनीतिक दल त्रसित भएको बताए।
नेकपा एमाले देशको सबैभन्दा ठूलो र जनताले मन पराएको पार्टी भएको भन्दै उनले पार्टीले राणा, पञ्चायत, निरकुंश राजतन्त्र फ्याँकेर देशलाई अँध्यारोबाट निकालेको बताए।
समृद्ध नेपाल र सुखी नेपाली बनाउने, राजनीतिक, आर्थिक तथा सामाजिक समस्या समाधान गर्ने ऐतिहासिक अभिभारा पार्टीले बोकेको बताए। पार्टीले संघर्ष र बलिदानको ७२ वर्ष पार गरेको भन्दै आमरुपमा सफलताको सिँढी चढेको बताए।
“समाज परिवर्तनका लागि व्यवाहारिक ढंगले क्रान्तिकारी र अग्रगमन परिवर्तन गर्न आवश्यक नीति तर्जुमा गर्दै व्यवाहारमा परिणत गर्ने पार्टी हो नेकपा एमाले,” अध्यक्ष ओलीले भने।

























