मंसिर ९ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज बिहीबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले कुवेतविरुद्ध जित हात पार्नुपर्ने हुन्छ। त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ।
सन् २०१९ मा भएको एक भेटमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो। नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। तर, नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउदै विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राखेको छ।
यता कुवेतले भने आफ्ना दुबै खेलमा पराजय भोगेको छ। कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो। छनोटअन्तर्गत युएई लगातार दुई खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
यता एक–एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानले समान दुई–दुई अंक जोडेपनि नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौ स्थानमा रहेका छन्।
प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ। छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।


























