सिन्धुपाल्चोक, मंसिर ४ । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटर साइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए।
बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए। ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ। रासस


























