मंसिर २ । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोलीसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ।
नेपालले दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो पटक सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ।
तीन खेलको सिरिज नेपालले यस अघि नै जितिसकेको छ। तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ। नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो।
यस्तै बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्दै महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको थियो।
नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै ऐतिहासिक सफलता प्राप्त गरेको हो। आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ। नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन्।


























