कार्तिक २९। सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो। पोर्चुगलको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर सर्बियाले जित निकालेको हो।
खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए। यस जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ। र, शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो। पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।
पोर्चुगलको समेत विश्वकपमा छनोट हुने सम्भावना रहेको छ। अब पोर्चुगलले प्ले अफ खेल खेल्नेछ। यसै समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३-० ले हराएको छ। एजेन्सी


























