काठमाडौँ, कार्तिक २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमता विश्वभर चिनाउनुपर्ने बताएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए।
उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे।
समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो। प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे।
साहित्यकार परिचयपत्र वितरण
समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरे।
प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखकरसाहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।
सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो। सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ। रासस


























