कार्तिक २८ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ।
उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने छन्। दुबईमा हुने उपाधि भिडन्त नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेको छैन।
अष्ट्रेलिया दोस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनल पुगेको हो। यस अघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो।
न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो। यस अघि न्युजिल्याण्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
जारी विश्वकपमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो।
दुई टिमबीचको पछिल्लो हेड टु हेडमा न्युजिल्याण्ड बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ। अष्ट्रेलियाले दुई खेलमा जित निकालेको छ।


























