चितवन, कार्तिक २३ । चितवनमा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ। भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो। यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो।
महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिए। उनका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरु हुनेछन्। पच्चीस मिटरदेखि १०० मिटरसम्मका पौडी प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयका ८–१०, १२–१४ वर्ष उमेर समूहका विद्यार्थी र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन्। चितवन, मोरङ, ललितपुर, काठमाडौं, कास्की, बाँकेलगायतका जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सो अवसरमा जानकारी दिइयो। प्रतियोगिताका लागि २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको पौडी पोखरी ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो छ।
प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी सङ्घको रहेको छ। यसअघि यहाँ छ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टोलीका १२ खेलाडीले पौडी तालिम लिएका थिए। पौडी पोखरीका लागि संरचना निर्माणमा रु दुई करोड खर्च गरी अन्तर्राष्ट्रिय मापदण्डको पोखरी निर्माण गरिएसँगै हवेली आर्फँले पौडी प्रतियोगिताको आयोजना गरेको लोहनीले बताए। रासस


























