काठमाडौं, कार्तिक २२ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख डोज भेरोसेल खोप पठाएको छ।
साथमा, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर पनि चिनियाँ सेनाले पठाएको छ। सोमबार जंगीअड्डामा आयोजित समारोहमा चिनियाँ राजदूत होऊ याङ्कीले उक्त स्वास्थ्य सामग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्।
महामारी जारी रहँदा चिनियाँ सेनाबाट प्राप्त उक्त सहयोगका लागि प्रधानसेनापति शर्माले धन्यवाद ज्ञापन गरे। उक्त स्वास्थ्य सामग्रीबाट नेपाली सेनाका सबै दर्जा र हिताधिकारीहरू लाभान्वित हुने प्रधानसेनापति शर्माले बताए।
‘यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुनेछ र दुई देशका सेनाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास छ,’ शर्माले भने।
Facebook Comments


























