लमजुङ, कार्तिक १९ । दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो। त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ।
उनका अनुसार उनीहरुलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीकासमेत प्रहरी चौकीमै लगाउने भएका छन्। पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ। रासस


























